बाढी पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ लाख हेक्टर यस्तो जग्गा प्रयोगविहीन अवस्थामा छ । खेतीयोग्य जग्गा न्यून हुँदै गएको र उत्पादन पनि कम हुँदै गर्दा पोषणयुक्त खाद्यान्न र खाद्य असुरक्षाको ठूलो जोखिममा विस्तारै धकेलिदैं गएको अवस्थालाई नकार्न सकिन्न । उत्पादन कम हुँदा नेपालमा कृषिजन्य वस्तुको वार्षिक व्यापार घाटा झण्डै २ खर्ब छ ।
यसरी बगरमा परिणत भएको र अन्य कारणले प्रयोगविहीन अवस्थामा पुगेको जग्गालाई भेटिवरको सहयोगमा सदुपयोग गर्दा कृषिमा देखिएको व्यापार घाटाको समस्या कम गर्न सकिन्छ । साथै जडिबुटी, उच्च मूल्यका कृषि उपज, इन्धन, अर्गानिक मल, फलफूल, तरकारी, गेडागुडी, भेटिवरका सहउत्पादनहरु, चिनी, कागज, डेरी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थमा आत्मनिर्भर हुन सकिन्छ । आवश्यकताभन्दा बढी भएको उत्पादनलाई निर्यात गरेर वैदेशिक मुद्रासमेत आर्जन गर्न सकिन्छ ।
के हो भेटिभर ?

जुनसुकै हावापानी र जस्तोसुकै जमिनमा पनि उम्रन सक्ने क्षमता भएको भेटिवर झट्ट हेर्दा कुशजस्तो देखिने घाँस हो । यसको वैज्ञानिक नाम क्रिसोपोगन जिजानियोइड्स हो । यसलाई खस खस भनेर पनि चिनिन्छ । बाह्रै महिना उम्रिने यो गुच्छेदार घाँस हो । साढे १ मिटर (५ फिट) सम्म अग्लो हुने यसका पात उखुको जस्तो तर अलि साँघुरो हुन्छ । यसको डाँठ भने सिधा र कडा हुन्छ । यसको टुप्पोमा स–साना खैरो प्याजी रंगका फूल फुल्छन् । यसको सबैभन्दा महत्वपूर्ण भाग जरा हो । तारजालीजस्तै फैलिने यसको जरा जमिनमुनि ३ मिटर (१० फिट) भन्दा तलसम्म पुग्छ भने जमिनमाथि यो लगभग ५ फिट उचाईसम्म जान्छ ।
यो ठूलो चमत्कारिक बिरुवा हो । यसको जरा सुगन्धित हुन्छ । यस अम्लीय र क्षारीय दुवैखाले गुण भएको माटोमा घाँस सजिलै उमार्न सकिन्छ । निकै छिटो बढ्न सक्ने यसको अर्को महत्वपूर्ण पक्ष हो । मलेसियामा गरिएको अनुसन्धानले यो घाँस प्रतिदिन ५ सेन्टिमिटरका दरले ६० दिनभन्दा बढी समय बढ्ने गरेको पाइएको छ । हुर्किएको ६ महिनामा नै यसको जरा फैलिएर बिग्रिएको पानीको बहावसँगै बग्न लागेको माटोलाई निकै कडाईका साथ एकापसमा जोडेर समातेर राख्ने गर्छ ।
नेपालमा बाढी पहिरोको जोखिम उच्च भएकाले यो घाँसको प्रयोगको ठूलो आवश्यकता छ । बगरसहित प्रयोगविहीन जग्गामा भेटिवरको रोपण अपरिहार्य छ । भेटिवरको खेती गरेपछि उक्त जग्गा उर्वर भूमिमा परिणत हुन्छ । नेपालमा खेतीयोग्य ठूलो जग्गा बर्षेनी बगरमा परिणत भएकाले यस्ता जग्गालाई भेटिवरको सहयोगमा पुनः कृषि भूमिमै फर्काउन किसानलाई सहयोग गर्न नीतिगत व्यवस्था गर्न आवश्यक छ ।
बाढीबाट नदी नियन्त्रण र पहाडी भेगमा भूक्षय गएर सडक, बस्तीमा पहिरोको जोखिम निम्तिने खतरालाई भेटिवरकै सहयोगमा व्यवस्थापन गर्न सकिन्छ । वायो इन्जिनियरिङ्ग प्रविधिभन्दा अहिले चलन चल्तिमा रहेको इन्जिनियरिङ्ग प्रविधि निकै खर्चिलो छ । यसको प्रयोग निकै प्रभावकारी मानिएपनि नेपालमा भेटिवरको प्रयोगको अभ्यास निकै कम छ ।
यो लामो समयसम्म उत्पादन हुने घाँस हो । खडेरी प्रतिरोधी, नुनिलो र पानी जमेको स्थानमा पनि सजिलै यो घाँस लगाउन सकिन्छ । यसले भूमिगत पानीलाई रिचार्ज गर्न पनि सहयोग प्रदान गर्छ । यसले प्रदूषणयुक्त पानीलाई शुद्धीकरण गरी पानीको गुणस्तरमा सुधार गर्ने प्रक्रियामा उल्लेखनीय भूमिका खेल्दछ । यसबाहेक फलाम तथा अन्य खानी भएको भूमिलाई पनि उर्वर भूमिमा परिणत गरिदिने चमत्कारिक घाँस हो यो । Read More on Ratopati