Spread the love

तीर्थ भटृराई

काठमाडाैँ-नेपाल एक पहाडी मुलुक भएको हुनाले विभिन्न प्राकृतिक प्रकोपहरुबाट वेलावखत आक्रान्त हुने गरेको छ ।

भौगोलिक भूवनोटका कारण यहाँको जमीन अस्थिर रहिरहने र वेलावेलामा विभिन्न प्रकारका विपदहरुको जोखिम भइरहने हुन्छ । ती जोखिमहरु मध्येपनि वाढी तथा पहिरोको जोखिम नै सवैभन्दा ठूलो जोखिम भएकाले बर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ ।

नेपाल विभिन्न किसिमका विपद्को आधारमा जलवायू परिवर्तनमा चौथो, भूकम्पमा एघारौंं र बाढीपहिरोको आाधारमा ३० औं जोखिमयुक्त देश मानिन्छ ।

एकदमै उच्च भूभाग हुनुका साथै ज्यादै भिराला पाखाहरु भएकाले यहाँ पहिरोको सम्भावना अत्यधिक रहेको छ भने जलस्रोतको दृष्टिले धनी भएको तथा अनगिन्ति नदीनाला भएकाले बाढीको पनि उत्तिकै जोखिम रहेको छ ।

पहिरोको जोखिम पहाडी भूभागमा बढी रहेको छ भने बाढीबाट पहाडका साथै तराईको समथर भूभाग समेत अत्यधिक प्रभावित रहने गरेको पाइन्छ ।

यसबर्ष पनि नेपालले मनसुनको शुरुवातमै बाढी र पहिरोको प्रकोपको सामना गर्नु पर्‍यो । यसबर्ष मनसुन शुरु भएपछि बाढी तथा पहिरोबाट २०८० असोज १ गते सम्मको गृह मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ५८ जनाको मृत्यु भयो भने २९ जना वेपत्ता भए ।

विभिन्न बाढी पहिरोका घटनामा ६७ जना घाइते भए भने पूर्ण घर क्षति २४० र आंशिक घर क्षति ७११ घरमा भएको थियो । विभिन्न जिल्लामा छिटफुट पहिरोका घटना र मृत्यु भएता पनि मकवानपुरमा भने पहिरोमा परी सवैभन्दा बढी ६ जनाको ज्यान गएको थियो भने दोलखामा पनि पहिरोमा परी ५ जनाको मृत्यु भयो । साथै, ओखलढुंगा र रुकुम पश्चिममा पनि ४÷४ जनाको मृत्यु भयो ।

नेपाल भूकम्पबाट हुने पहिरोमा पनि दशौं जोखिमयुक्त देशमा पर्दछ । बर्षाबाट हुने पहिरोमा अमेरिका प्रथम, चीन दोस्रो र भारत तेस्रो जोखिमयुक्त देश रहेका छन् भने भूकम्पबाट हुने पहिरोमा चीन प्रथम, किर्गिजस्तान दोस्रो र अमेरिका तेस्रो स्थानमा पर्दछन् ।

अरु देशको तुलनामा सानै भएपनि जटील भूबनोटका कारण नेपाल पहिरोले धेरै प्रभावित राष्ट्रमा पर्दछ । यी विभिन्न प्रकोपहरुले नेपाललाई धनजनका साथै पूर्वाधार लगायत विकासका संरचनामा व्यापक आर्थिक क्षति पनि पुर्‍याइरहेका हुन्छन् ।

यस्ता पहिरोहरु अधिक मात्रामा हुनुमा भौगर्भिक अवस्था, अस्थिर माटोको प्रकृति, भिरालो भूवनोट, जंगल फडानी, डढेलोका कारण बनजंगल उजाड हुनु आदि कारक तत्व रहेका छन् ।

जलवायू परिवर्तनका कारण कतै कम बर्षा र कतै अधिक बर्षा हुनुले पनि बाढी पहिरो निम्त्याएका छन् । बाढी तथा पहिरो प्राकृतिक घटना भएपनि मानवीय क्रियाकलापका कारण पनि यस्ता घटनामा वृद्घि हुने वा क्षति बढी हुने अवस्था आउने गरेको छ ।

नेपालमा बाढी पहिरो रोकथाम गर्न खासै अध्ययन नहुनुका साथै यस क्षेत्रमा लगानी हुन सकेको छैन । विकास निर्माण शुरु गर्दा वातावरणीय मुल्यांकनका आधारमा हुनुपर्नेमा कतिपय योजनाहरु हचुवाका भरमा शुरु गरिएका हुन्छन् भने पछिल्लो समय आफ्नो गाउँमा सडक पुर्‍याउने होडले विना अध्ययन तथा प्राविधिकको सल्लाह विना नै जताततै सडक खनिनुले भूक्षय बढाउनाका साथै बाढी र पहिरोको जोखिमलाई पनि बढाएको छ ।

नेपालमा विभिन्न पहाडी जिल्लाहरु पहिरोबाट अत्यधिक प्रभावित हुने गरेका छन् । पहिरोबाट अत्यधिक प्रभावित जिल्लाहरुमा पर्वत, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, म्याग्दी, लम्जुङ, धादिङ, तनहूँ, गोरखा आदि रहेका छन् ।

यसवर्ष ताप्लेजुङ, पाँचथर, संखुवासभा, दोलखा आदि जिल्लाहरु पनि पहिरोबाट अत्यधिक प्रभावित भए । विगतमा भएका ठूला पहिरोको घटनामा सिन्धुपाल्चोक जिल्लाको जुरे पहिरो उल्लेखनीय छ । विसं २०७१ साउन १७ गतेका दिन आएको सो पहिरोमा परी त्यहाँको जुरे गाउँ नै वगेर सुनकोशी नदीमा विलिन भएको थियो भने १५६ जनाको मृत्यु भएको थियो । सो पहिरो १.२६ किमी लम्वाईको थियो भने यसको पुछारमा यसको चौडाई ८१० मिटर थियो । यस पहिरोमा परी धेरै घरहरु वगेका थिए र मानिसहरु विस्थापित भएका थिए । सो पहिरोबाट बलेफी, वाह्रविसे तथा त्रिपुरासुन्दरी गाविस प्रभावित हुन पुगेका थिए ।

पछिल्ला बर्षहरुमा सरकारले पहिरो रोकथाम गर्न खासगरी सडक पूर्वाधार भएका स्थानमा वायो इन्जिनियरिङको पनि प्रयोग गर्न थालेको भएता पनि यो केही स्थानमा मात्र सिमित छ । काठमाडौं—मुंग्लिङ—नारायणगढ सडक, काठमाडौ—तराई-मधेस द्रूतमार्ग आयोजना, पोखरा विमानस्थल आदि ठूला आयोजना आदिमा वायो इन्जिनियरिङको माध्यमबाट पहिरो नियन्त्रण तथा भिरालो जमीन स्थिरिकरण गर्ने कार्य गरिएको छ ।

वायो इन्जिनियरीङमा विभिन्न प्रकारका घाँस तथा रुखविरुवा प्रयोग गर्ने गरिएको छ । यी घाँस तथा रुखविरुवाहरुमा दुवो, किकियु, काँस, अम्लिसो, खर, वावियो, वाँस, भुजेत्रो, धँगेरो, बकाइनो, खयर, उत्तिस आदि पर्दछन् । .

पछिल्लो समयमा वायो इन्जिनियरिङको क्षेत्रमा एक नयाँ वनस्पति चर्चामा छ । यो वनस्पतिको नाम भेटिवर हो । भेटिवर दक्षीण तथा दक्षीण पूर्व एशियाली देशकै रैथाने भएता पनि पहिले त्यति चर्चामा आएको थिएन । हाल भने विभिन्न क्षेत्रका विज्ञहरुले यसको महत्व सर्वसाधारणमा वुझाउँदै गएका छन् ।

यो नेपालको पूर्व तथा पश्चिमको तराई क्षेत्रमा पनि पाइन्छ । यसलाई नेपालीमा खस वा खस्खस् पनि भनिन्छ भने संस्कृतमा उसिरा भनिन्छ । हिन्दीमा खुस्खुस् पनि भनिन्छ । यो लगभग धान गहूँजस्तै पोआसिया प्रजातीको घाँस हो र यसको उपयोग विभिन्न काममा गर्न सकिन्छ ।

यसको वैज्ञानिक नाम क्रिशोपोगन जिजानियोइड्स् हो । यो एक घाँस हो तर यसलाई जडीवुटीको रुपमा समेत उपयोग गर्न सकिन्छ । यसको जराबाट आयुर्वेदिक महत्व भएको वहूमूल्य तेल निकाल्न सकिन्छ ।

भेटिवरको जरा एकदमै गहिराईमा जान सक्ने भएकाले यसले माटोलाई अत्यन्त राम्रोसंग पकड्ने र माटोलाई सानोतिनो पानी वा बाढीले बगाउन नसक्ने हुनाले वायो इन्जिनियरिङमा यसको ठूलो महत्व रहेको छ ।

यसको वोट दुई मिटर सम्म अग्लो हुन्छ भने यसको जरा तीन मिटरसम्म गहिराईमा जानसक्छन् । यसको जरा वाक्लो हुने र दायाँवायाँ भन्दा गहिराईमा फैलने भएकाले यो अनाक्रामक हुन्छ र अरु वाली र वनस्पतिलाई हानी पुर्‍याउँदैन ।

यसको जराको शियर र टेन्सायल शक्ति पनि बढी हुन्छ । यसको जराको टेन्सायल शक्ति माइल्ड स्टिलको छ भागको एक भागसम्म हुने हुनाले यो निकै वलियो हुने र बाढी तथा पहिरोमा सामान्यतया वगेर जान नसक्ने हुनाले यसले माटोलाई भूक्षय हुनबाट रोकेर राख्न सक्दछ । यसको जरा भित्र बाक्लिएर जालोजस्तै भएर बस्ने हुनाले यसले माटोलाई कसिलो गरी वाँधेर राख्न सक्दछ ।

बाढी तथा पहिरो रोकथाम गर्नमा यसको व्यापक प्रयोग गरी फाइदा लिन सकिन्छ । यो घाँस जस्तोसुकै ढुंग्यान तथा वाँझो जमीनमा पनि चाँडै हुर्कन सक्ने भएको हुनाले वगर र वन्जर जमीनलाई उपयोगमा ल्याउन सकिन्छ भने यसले कालान्तरमा बन्जर जमीनलाई पनि उर्वर वनाइदिन्छ ।

यसको जराले पानीलाई शोषेर राख्ने भएकाले भूक्षय हुन नदिनुका साथै धेरै जमीनमा लगाएमा कालान्तरमा पानीको मुल फुटाउन समेत सहयोग गर्दछ । यसरी खेर गएका जमीनमा यो घाँस लगाई बाढीपहिरो रोकथाम गर्ने मात्र नभै अरु वालीको उत्पादन पनि बढाउन सकिन्छ भने यसलाई घाँसको रुपमा प्रयोग गर्नुका साथै वायोमास, व्रिकेट बनाउने, हस्तकलाका सामान बनाउने काममा पनि प्रयोग गरी आम्दानी लिन सकिन्छ । यसको जराबाट वहुमुल्य तेल निकाली विक्री गर्न सकिन्छ जुन विभिन्न महँगा अत्तर तथा आयुर्वेदिक औषधिहरु उत्पादन गर्नमा प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Explore More

भेटिभर मार्फत नगरकाेटमा गरिएकाे पहिराे नियन्त्रणकाे कार्य

Spread the loveभेटिभर मार्फत नगरकाेटमा गरिएकाे पहिराे नियन्त्रणकाे कार्य । #nagarkot अहिले बर्षातको समय भेटिभर विरुवा रोप्ने उपयुक्त समय हो । भेटिभर मार्फत न्युन लगानीमा सम्भावित पहिरो तथा नदिकटानको जोखिमबाट

पहिराे तथा नदी कटान नियन्त्रणमा भेटिभर : एक बहुउपयोगी घाँस

Spread the loveकाठमाडाैँ-नेपाल आफैमा प्राकिर्तिक हिसाबले दक्षिण एसियामै निकै संबेदनशील भूबनोट भएको मुलुक हो | अझै बुझ्ने गरि भन्ने हो भने बाढी, नदीको भेल, नदि कटान तराई क्षेत्रको एक प्रमुख

प्रयोगविहीन जग्गामा भेटिवरको खेतीः आर्थिक क्रान्ति सम्भव

Spread the loveबाढी पहिरो र नदीको भेलका कारण नेपालमा बर्षेनी ठूलो परिमाणमा खेतीयोग्य जग्गा बगरमा परिणत भएर प्रयोगहीन अवस्थामा पुगिरहेको छ । अहिले नै करिब ५ लाख हेक्टर यस्तो जग्गा